इलाम, ७ वैशाख : कमजोर आर्थिक अवस्थाका कारण खानलाउन नपुग्नेभएपछि सूर्योदय नगरपालिका–४ गोरखकी सञ्चमाया राईका लागि विदेश जानु पारिवारिक बाध्यता थियो । घरमा श्रीमान् र पाँच बालबच्चा थिए । ‘एजेन्ट’ले बिनालगानी, बिनापासपोर्ट विदेश लगिदिन्छु भनेपछि उहाँलाई पैसाको लोभ भयो । विसं २०६८ मा इलामबाट झापा पुर्याएर भारत हुँदै साउदीमा बेपत्ता बनाइएकी सञ्चमाया १४ वर्षदेखि बेखबर हुनुहुन्छ ।
“आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन”, सञ्चमायाकी छोरी सृजनाले भन्नुभयो, “एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नु भएछ । त्यसपछि साउदी पुर्याएको खबर सुनियो । तर आमासँग कुरा हुन पाएन ।”
गाउँका अन्य महिलालाई पनि अवैध बाटोबाट खाडी मुलुक पठाएको एजेन्ट अहिले नेपालमा नहुँदा खोजी गर्न समस्या छ । “एजेन्ट पनि आजकाल विदेशतिरै भासिएर सम्पर्क टुटेको छ”, सृजनाले भन्नुभयो, “म सानो हुँदा आमा जानुभएको अलिअलि सम्झना छ । यतिका समय बित्यो । सम्पर्क छैन । न सास, न लास केही पत्तो भएन ।”
सृजनाले स्थानीय सरकारसँग आमा खोजीदिन गुहार गर्नुभएको छ । “नागरिकता भए सजिलो हुन्थो रे ! मामली गाउँको वडामा गएर आमाको नागरिकता नम्बर खोज्यौँ । तर, आगलागी हुँदा ढड्डा डढ्यो भन्नुभयो । खै केही उपाय होला कि ।”
सूर्योदय–५ का वडाध्यक्ष उर्गेन बम्जनले सूर्योदय नगरपालिकासँग जोडिएको रेमी परियोजनाले पहल गरिरहेको बताउनुभयो । “सुरक्षित आप्रवासन सञ्चालन परियोजना (रेमी)मार्फत हामी नागरिकता नम्बर खोजीमा छौँ । कसले फसायो । उहाँ कहाँ हुनुहुन्छ पत्तो लगाउनु हाम्रो पनि कर्तव्य हो । परिवारको गुनासोले मलाई पनि पिरोलेको छ”, वडाध्यक्ष बम्जनले भन्नुभयो, “सञ्चमायाका श्रीमान् नरबहादुर सोझो हुनुहुन्छ । खेती किसानी गरेर बच्चा हुर्काउनुभयो । अब सन्तान बढेपछि आमाको खोजी गरिरहेका छन् । वडा साथमा छ ।”
श्रीमती बेपत्ता भएको पीर मनभरि भए पनि नरबहादुरलाई व्यक्त गर्न आउँदैन । सम्झनामा गहभरि आँसु पार्दै भक्कानिनुबाहेक कानुनी तरिकाले खोजीमा पुग्ने क्षमता छैन । “धेरै पढ्नु भएन । बोल्न, भन्न आँट गर्नुहुन्न । हामी छोराछोरीले खोजी गर्न सुरु गरेका छौँ । भाग्य रहेछ भने आमा भन्न पाइएला”, कान्छा छोरा बिराजले भन्नुभयो । सञ्चमाया र नरबहादुरका छोरा रबिन, देउराज, विक्रम र बिराज हुनुहुन्छ । बिराज माध्यमिक तह पढिरहनुभएको छ । छोरी सृजना झापा बसेर ब्याचलर गरिरहनुभएको छभने तीन छोरा भारतमा श्रम गरिरहनुभएको छ ।




