शुक्रवार, जेठ १०, २०८२
Nayapaper | अनलाइन पत्रिका

मिलन चाम्सको ‘सुम्निमा’ मा उपासना सिंह ठकुरी

बुधवार, वैशाख २४, २०८२


काठमाडौँ, २४ वैशाख : मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित हुनुभएको छ।

‘सुम्निमा’ मा उपासना अनुबन्ध भएसँगै उहाँको जोडीको रूपमा काम गर्ने अभिनेताका लागि अडिसन आह्वान गरिएको छ। २० देखि २६ वर्ष उमेर समूहका युकेमा रहेका व्यक्तिहरूले अडिसनमा भाग लिन पाउने उल्लेख गरिएको छ।

निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म निर्माण हुने बताउनु भयो “कथावस्तु पनि युनिभर्सल भएकाले विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ,” चाम्सले भन्नुभयो ।

नेपाल र बेलायतमा यो फिल्मको छायांकन जुलाईदेखि सुरु हुनेछ। चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्सको संयुक्त ब्यानरमा बन्ने यो फिल्म निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ। फिल्ममा राजीव थापाको कथा र पटकथा समावेश हुनेछ।

चाम्सको निर्देशनमा बनेको बायोपिक फिल्म ‘अञ्जिला’ ले सफल प्रदर्शनको ५१ औं दिन पार गरिसकेको छ। ‘अञ्जिला’ ले प्राप्त गरेको सफलतासँगै चाम्सलाई आगामी प्रोजेक्ट अझ उत्कृष्ट बनाउनु पर्ने चुनौती थपिएको छ।

प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ। कथा राम्रो भएको र टिम मजबुत रहेको हुँदा ‘सुम्निमा’ उत्कृष्ट फिल्म बन्नेमा चाम्स ढुक्क देखिएका छन्।

फिल्मका अन्य प्राविधिक पक्ष र टिमको विवरण पछि मात्र सार्वजनिक गरिने निर्देशक चाम्सले जनाएका छन्।

सम्बन्धित खबर