सोमवार, जेठ ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

महँगी बढेकाले बजार अनुमगन गर्न सांसदको आग्रह

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुमगन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 
 
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गर्नुभयो । सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य अगाडि बढाउन आर्थिक वर्ष २०८२/८३ मा आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभयो । 
 
सांसद पदमबहादुर परियारले व्यास नगरपालिकाद्वारा अघि बढाइएको सरसफाइ व्यवस्थापन केन्द्र निर्माण गर्न सङ्घीय सरकारसमक्ष पेस भएको योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । सांसद पूजा चौधरीले तराई–मधेशमा डेङ्गु नियन्त्रण गर्न आवश्यक पहलका लागि माग गर्नुभयो । 
 
सांसद मनरुपा शर्माले शान्तिप्रक्रियाको बाँकी काम समयमा नै टुङ्ग्याउन आग्रह गर्नुभयो । सांसद रुक्मिणी कोइरालाले कोशी प्रदेशका विभिन्न जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको पहलका  लागि अनुरोध गर्नुभयो । 
 
सांसद रेणु चन्दले बाजुराको त्रिवेणी नगरपालिकाको  मौरेमा समयमै पुल निर्माण सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुकुमारी सापकोटाले रुस–युक्रेन युद्धमा नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारसँग माग गर्नुभयो ।  
 
सांसद विष्णुबहादुर विश्वकर्माले सप्तरीको सुरुङ्गा नगरपालिकाकी पूजाकुमारी रामको बलात्कारपछि हत्या गरिएको उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले साउदी अरबमा अलपत्र परेका नेपाली कामदारको उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सावित्री मल्लले निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुभयो । 
सम्बन्धित खबर