झापा, १ जेठः झापा जिल्लाको गौरीगञ्जबाट भारी मात्रामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्।
इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक भुवनबाबु खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिजो साँझ ५:३० बजे हुलाकी सडकखण्डमा चेकजाँचको क्रममा भारतको बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकल रोकेर अनुसन्धान गरेको थियो।
मोटरसाइकल चालक भारत, किसनगंज जिल्ला खनियाबाद–७, फुलबरियाका १९ वर्षीय मोनाजिर आलमको मोबाइल जाँच गर्दा भारतीय नम्बर +९१९०३१७३३५९६ बाट ‘संजय’ नाममा सेभ गरिएको ९८००८१०३०० नम्बरमा लागूऔषध जस्तो देखिने ब्राउनसुगरको भिडियो पठाएको पत्ता लागेको थियो। सोबारे सोधपुछ गर्दा उक्त लागूऔषध भोला ठाकुर नामक व्यक्तिसँग रहेको र संजय राईलाई दिन भनेर पठाइएको जानकारी आलमले दिएको प्रहरीले जनाएको छ।
त्यसपछि थप अनुसन्धान गर्दा साँझ ६ बजे गौरीगञ्ज चोक नजिक भारतको किसनगंज जिल्ला खनियाबाद–५, फत्तेपुरका ५८ वर्षीय भोला ठाकुर फेला परेका थिए। जाँच गर्दा उनको कम्मरमुनि जाँघमा लुकाएर राखिएको अवस्थामा प्लास्टिकको पोकोमा ब्राउनसुगर १०२.८१० ग्राम, नाइट्राजेपाम १०० ट्याब्लेट र कोडिन फस्फेट एन्ड ट्रिप्रोलिडाइन हाइड्रोक्लोराइड सिरप २ बोतल बरामद गरिएको थियो।
पछि अनुसन्धानलाई अगाडि बढाउँदै साँझ ६:१५ बजे गौरीगञ्ज–३ तेलगानीबाट ना १ च ९१६२ नम्बरको कारमा रहेका संजय राई पक्राउ परेका थिए। दमक नगरपालिका–५ निवासी अन्दाजी ४१ वर्षीय संजय उर्फ भूपेन्द्र राईको साथबाट रु. २ लाख ४३ हजार ५ सय नगद, २ थान आइफोन मोबाइल र लागूऔषध तौल्न प्रयोग गरिने डिजिटल तराजु बरामद भएको प्रहरीको भनाइ छ।
पक्राउ परेका तीनैजनालाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




