बिर्तामोड, २ जेठः झापा जिल्लामा उत्पादन हुने बायोग्यासलाई घर-घर पुर्याउने उद्देश्यले सिटी ग्यास पाइपलाइन योजना अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारी, नेपाल आयल निगमका उच्च अधिकारी तथा प्राविधिकसँगको छलफलपछि प्रधानमन्त्रीले अध्ययन, लगानी र आवश्यक पूर्वाधार निर्माणमा ढिलाई नगर्न निर्देशन दिनु भएको हो ।
छलफलपछि निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले उपनिर्देशक प्रदीप यादवको नेतृत्वमा टोली झापा पठाइएको जानकारी दिनु भयो ।
टोलीले बायोग्यास प्लान्टको निरीक्षण गरिसकेको छ र एक साताभित्र विस्तृत कार्ययोजना प्रधानमन्त्रीसमक्ष पेश गर्ने छ ।हाल बायोग्यास प्लान्टबाट दैनिक ६५० किलो ग्यास उत्पादन हुने क्षमता भए पनि आवश्यक पूर्वाधारको अभावमा सीमित मात्र प्रयोग भइरहेको छ ।
५० किलो तौलको सिलिन्डरमा जम्मा ६ किलो मात्र ग्यास भर्न सकिने बाध्यताको कारण एउटा स्थानीय होटेलमा खपत भइरहेको छ ।अध्ययनमा पाइपलाइनमार्फत आपूर्ति नै सबैभन्दा प्रभावकारी विकल्प हुने निष्कर्ष निकालिएको छ । बायोग्यास उत्पादन कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रका फोहोर र गोबरको प्रयोगबाट भइरहेको छ ।
कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार प्लान्टले एक हजार घरमा ग्यास पुर्याउने क्षमता राखे पनि प्रयोगमा आउन सकेको छैन । पोखरेलले स्थानीय कृषि बजार र घरायसी फोहोरको व्यवस्थापन गर्दै परियोजना अघि बढाउनु पर्ने आवश्यकतामा जोड दिनु भएको छ ।





