झापा, ३ जेठ: ताप्लेजुङको पाथिभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाको विरुद्धमा जारी आन्दोलन नरोकिने स्पष्ट गर्दै ‘नो केवलकार’ अभियानले परियोजना खारेजको माग पुनः दोहोर्याएको छ।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै अभियान पक्षले मुक्कुमलुङ क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्व जोगाउन केवलकार परियोजना तत्काल रोकेर खारेज गर्नुपर्ने अडान लिएको हो।
यसअघि सर्वोच्च अदालतले पाथिभरामा निर्माण कार्य रोक्नुपर्ने आदेश नदिएपछि केही सञ्चारमाध्यमले परियोजना पुनः सुरु हुने आशयका समाचार प्रकाशन गरेका थिए। तर, नो केवलकार समूहले ती समाचारलाई भ्रामक भनेको छ र उक्त समाचारले मुन्धुमवादी समुदायको भावनामा गम्भीर चोट पुर्याएको आरोप लगाएको छ।
नो केवलकार अभियान र मुक्कुमलुङ संरक्षणमा सक्रिय विभिन्न राजनीतिक समूहहरूले सर्वोच्चमा अझै मुद्दा विचाराधीन रहेको जनाउँदै कुनै पनि नयाँ गतिविधि नगर्न चेतावनी दिएका छन्।
अभियानले परियोजनाको मुख्य विरोधका कारणहरूमा मुक्कुमलुङको अतिक्रमण रोक्ने, धार्मिक स्वतन्त्रताको रक्षा गर्ने र स्थानीय समुदायको भावना अनुसार परियोजनालाई पूर्ण रूपमा खारेज गराउने लक्ष्य रहेको जनाएको छ।




