सुर्खेत, १४ जेठ: यू–१६ क्रिकेट राष्ट्रिय प्रतियोगिता जेठ १९ गतेदेखि ३१ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । २०२५ मा हुने एसीसी यू–१६ इष्ट जोन कप २०२५ लाई मध्यनजर राखेर प्रतियोगिता हुन लागेको हो ।
हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धि हासिल गरिरहेको र कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको र प्रतियोगिताले यस प्रदेशको आर्थिक गतिविधिसँगै खेल क्षेत्रको विकासमा टेवा पुग्ने नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर खड्काले बताउनु भयो ।
‘यस प्रतियोगिताबाट यु–१६ को पुरुष टिमका लागि राष्ट्रिय खेलाडी छनौट गर्ने लक्ष्य राखिएको छ,’ उहाँले भन्नुभयो,‘सातै प्रदेशका खेलाडीहरूको सहभागिता रहनेछ ।’
खेल लिग चरणमा हुने, सातै प्रदेशबाट सहभागिता रहने र जम्मा २१ खेल हुने प्रतियोगिता संयोजक श्रीधर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतको कालिञ्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर मैदानमा खेल हुने छन् ।




