बिहिवार, असार १९, २०८२
Nayapaper | अनलाइन पत्रिका

विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बिमा र बस्ती स्थानान्तरण

सोमवार, जेठ २६, २०८२

मोरङ, २६ जेठ : कोशी प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनीकरण गर्नका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने तयारी सुरू गरेको छ ।  
 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद्बाट प्रदेशमा हुने क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
 
विगतको तुलनामा यस वर्ष मनसुन छिट्टै सुरू भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बोलाइएको थियो ।
 
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले विपद्को क्षति कम गर्नका लागि विभिन्न सात महत्त्वपूर्ण निर्णय गरेको छ । 
 
बैठकले चालु आर्थिक वर्षमा वितरण गरिएको रु ७५ लाख ८० हजार बराबरको खर्चसमेत अनुमोदन गरेको छ । बैठकले प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्य योजना २०८२÷८३ र मनसुन पूर्वतयारी प्रतिकार्य प्रदेश कार्ययोजना २०८२ लाई पारित गरेको छ । 
 
सो अवसरमा मुख्यमन्त्री कार्कीले विपद् बीमा र स्थानान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न सङ्घसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिनुभयो । 
 
मुख्यमन्त्री कार्कीले बजेट र कार्यक्षमता हेरेर विपद् व्यवस्थापनको काममा तत्कालै जुट्न आग्रह गर्नुभयो ।
 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष आगलागी बाढीपहिरो चट्याङ र विस्फोटमा परी मृत्यु भएका ३४ जनालाई राहत रकम वितरण गरिएको छ । 
 
त्यस्तै, निजी आवास बनाउन रु ८६ लाख ४० हजार सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिनुभयो । कोशी प्रदेशमा तत्कालै स्थानान्तरण गर्नुपर्ने करिब चार हजार १५१ परिवारहरू रहेको जनाइएको छ ।
सम्बन्धित खबर