बुद्धशान्ति, २६ जेठ: झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सम्पन्न विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय, जयपुर (बुद्धशान्ति-२) पहिलो भएको छ। कक्षा ८ मा अध्ययनरत अनिश शाहद्वारा तयार गरिएको ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्किट’ ले प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्दै चार लाख रुपैयाँ नगद पुरस्कार जितेको हो।
अनिशले युट्युबमार्फत अध्ययन गर्दै उक्त सर्किट तयार पारेका हुन्। उनलाई कक्षा ११ का विज्ञान शिक्षक शिव ढुङ्गेलले प्राविधिक सहयोग गरेका थिए। प्रदर्शनीमा अनिशको सर्किटले धेरैको ध्यान खिचेको थियो।
प्रतियोगितामा दोस्रो स्थान बिर्तामोडकै देवी माविले हासिल गर्यो। कक्षा ११ का सविन बाँस्कोटाको नेतृत्वमा आयुष, अनिश र सुवर्णले बनाएको ‘देवी रोबोट’ ले दोस्रो स्थान प्राप्त गर्दै तीन लाख रुपैयाँ पुरस्कार जित्यो। उनीहरुले करिब एक महिनामा उक्त रोबोट निर्माण गरेका थिए, जसले दर्शकहरुलाई चकित तुल्याएको थियो।
तेस्रो स्थान तेह्रथुमको सिंहदेवी माविले प्राप्त गर्यो र दुई लाख रुपैयाँ पुरस्कार पायो।
यस बाहेक, पाँचथरको फिदिम मावि, इलामको फिक्कल मावि, सुनसरीको ल्याबोरटरी मावि, खोटाङको चिसापानी मावि, ताप्लेजुङको भानु जन मावि, संखुवासभाको मनकामना रत्न अम्बिका मावि, झापाको हिमाली मावि, धनकुटाको त्रिवेणी मावि तथा मोरङको रिलाइन्स अंग्रेजी माविले प्रोत्साहन स्वरूप २५२५ रुपैयाँका दरले पुरस्कार प्राप्त गरे।
कक्षा १२ सम्मका विद्यार्थीहरुले तयार पारेका अनुसन्धानमूलक परियोजनाहरु समेटिएको प्रदर्शनीमा १२ जिल्लाका ५० भन्दा बढी विद्यालय सहभागी थिए। कुल १२५ वटा स्टल रहेको कार्यक्रममा करिब १० हजार दर्शकको अवलोकन भएको आयोजकले बताएका छन्।





