शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगरपालिका : घरको छानो उडाएर विचल्लीमा परेकालाई त्रिपाल वितरण

आइतवार, चैत १९, २०७९

झापा ।  बिर्तामोड नगरपालिकाले वडा नम्बर २ मा ८० थान त्रिपाल वितरण गरेको छ । शुक्रवार साँझ आएको हावाहुरी सहितको असिना पानीले घरको छाना उडाएर विचल्लीमा परेका ७० घर परिवारलाई आज राहत स्वरुप त्रिपाल वितरण गरेको हो ।

६० थान बिर्तामोड नगरपालिका र २० थान नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको सहयोगमा गरी ८० थान त्रिपाल विभिन्न टोलमा पुगेर वितरण गरीएको हो । पीडितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले त्रिपाल हस्तान्तरण गर्नु भयो ।

नगर प्रमुख प्रसाईले तत्काल किनेर व्यवस्थापन गर्न नसक्नेहरुको लागि त्रिपाल वितरण गरीएको बताउनु भयो । उहाँले कृषकको क्षतिको विवरण संकलन गरेर कृषि ज्ञानकेन्द्रसंग समन्वय गरी आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिवद्घता समेत जनाउनु भयो । नगर प्रमुख प्रसाईले आइतबार विहान वडा नम्बर २ का विभिन्न टोलमा पुगेर कृषिमा भएको क्षतिको अनुगमन गर्नु भएको थियो ।

बिर्तामोड २ मा ७० वटा घर र ४२ वटा गाईगोठमा क्षति पुगेको छ । यस्तै ९० विगाह भन्दा बढी जग्गामा रहेको मकै तथा तरकारीवाली नष्ट भएको वडाअध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिनु भयो ।

त्रिपाल वितरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, वडा सदस्यहरु ओमनाथ गौतम, चेतन विमली लगायत स्थानीय विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

बिर्तामोड नगरपालिकाले १० वटै वडाहरुमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य गरीरहेको छ ।

सम्बन्धित खबर