शनिवार, मंसिर ८, २०८१
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोड नगरपालिका : मेयर, उपमेयरद्वारा असिना पानीले पुर्याएको क्षतिको अनुगमन

सोमवार, चैत २०, २०७९

झापा ।  बिर्तामोड नगरपालिकाले शुक्रवार साँझ आएको हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको अनुगमन गरेको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सोमबार वडा नम्बर १० मा पुगेर त्यहाँको अवस्थाको बारेमा अनुगमन गर्नु भयो । असिना पानीले अधिकांसको घरको छाना र कृषी बालीमा ठुलो क्षति पुर्याएको छ ।

नगर प्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले तेलगानी टोलमा रहेको सुकुम्बासी वस्ती लगाायतका विभिन्न टोलमा पुगेर क्षतिको बारेमा जानकारी लिनु भएको हो । नगर प्रमुख प्रसाईले टोल विकास संस्था मार्फत जतिसक्दो चाँडौ विवरण संकलन गर्न आग्रह गर्नु भयो ।

अनुगमनका क्रममा सुकुम्बासी वस्ती र बाँकी रहेका टोलमा रहेका अधिकांस घरहरुको छानो उडाएको, प्वाल परेको पाइएको छ । उनीहरुलाई तत्कालका लागि राहत स्वरुप त्रिपाल वितरणका लागि आवश्यक तयारी गरीएको नगर उपप्रमुख संग्रौलाले जानकारी दिनु भयो ।

असिना पानीले मकै, तरकारी र केरा बगानमा ठुलो क्षति पुर्याएको छ । वडा नम्बर १०मा मात्रै करिब
एक सय १५ विगाह क्षेत्रफलमा मकै नष्ट भएको नगरका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाले जानकारी दिनु भयो ।
उहाँले कृषि ज्ञान केन्द्रसंगको समन्वयमा असिना प्रभावित क्षेत्रमा गुगल म्याकिङ गरेर वास्तविक तथ्याङ्क संकलनको काम भईरहेको बताउनु भयो । बिर्तामोडको वडा नम्बर २,८,९ र १० मा असिनाले क्षति पुर्याएको छ ।

प्रभावित किसानहरुले क्षतिको विवरण संकलन गरेर राहतको व्यवस्था मिलाउन जनप्रतिनिधिहरुसंग माग गरेका छन् । सरकारले यस अघि धानमा भएको क्षतिको राहत नदिएको गुनासो गर्दै उनीहरुले यस पटक भने त्यसो हुन नदिन आग्रह गरेका छन् ।

बिर्तामोड लगायत झापाका अधिकांस पालिकाले धानमा भएको क्षतिको विवरण संघिय सरकारलाई पठाएको र सरकारले बैंक खाता खोल्नसमेत लगाएर वेवास्था गर्दा कृषक मर्कामा परेका छन् ।

बिर्तामोड नगरपालिकाले आइतबार वडा नम्बर २मा राहत स्वरुप ८० थान त्रिपाल वितरण गरेको छ ।

सम्बन्धित खबर