आइतवार, असार ८, २०८२
Nayapaper | अनलाइन पत्रिका

इरानबाट इजरायलमाथि जवाफी आक्रमण: दुई देशबीच युद्ध चर्किएसँगै अवस्था जटिल

शनिवार, जेठ ३१, २०८२

सुनसरी, ३१ जेठ: इरानले इजरायलमा जवाफी आक्रमण गरेको छ । दुई देशले एक अर्कालाई निरन्तर आक्रमण गरिरहेका छन् । इजरायलले हिजो बिहानै इरानमाथि हवाई आक्रमण गरेपछि इरानले जवाफ फर्काएको छ ।

तेल अभिभ र जेरुसलेममा विस्फोटका आवाजहरू सुनिएका छन् । इरानले यो अपरेशनलाई ‘ट्रू प्रमिस ३’ नाम दिएको छ । उसले ब्यालिस्टिक मिसाइल प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानी आक्रमणबाट इजरायलमा भौतिक क्षति र मानिसहरू हताहत भएका सीएनएनले जनाएको छ । यससँगै तनाव पनि थप चर्किएको छ । इजरायल र इरान दुवैले पछिल्ला आक्रमणपछि आफूहरू पछि हट्ने अवस्थामा नरहेको जनाएका छन् ।

उनीहरूले युद्ध शुरू भएको भन्दै थप आक्रमण गर्ने सङ्केत देखाएका छन् । इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एअर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीमाथि एकै पटक आक्रमण गरेको थियो । इरानको राजधानी तेहरान आसपास इजरायलबाट आक्रमण भएको थियो ।

हिजो संयुक्त राष्ट्रसङ्घमा इरानका राजदूत अमिर सइद इराभनीले इजरायली आक्रमण र त्यसले इरानमा पुर्‍याएको क्षतिबारे ब्रिफिङसमेत गर्नुभएको थियो । इजरायलको आक्रमणबाट इरानमा कम्तीमा ७८ जनाको ज्यान गएको उहाँको दाबी छ । ज्यान गुमाउनेमा इरानी सेनाका शीर्ष अधिकारीहरू पनि छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भीडीओ सन्देशमा थप आक्रमण बाँकी नै रहेको चेतावनी दिनुभएको छ । त्यस्तै इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले देशभरका नागरिकलाई सुरक्षित ठाउँभन्दा धेरै टाढा नजान सचेत गराएको छ ।

बीबीसीका अनुसार इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र रोक्न सैन्य कारबाही चलिरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न भनिएको छ । इरानका प्रतिनिधिले अमेरिकालाई इजरायललाई हतियार दिएको आरोप लगाउँदै सुरक्षा परिषद्मा कारबाहीको समेत माग गरेका छन् ।

इरानी सर्वोच्च नेता अली खामेनीले इजरायलको आक्रमणले ‘युद्धको शुरुआत’ गरेको बताउँदै ‘हिट एन्ड रन’ रणनीति अपनाएर सजिलै उम्कन नदिने चेतावनी दिनुभएको छ ।

सम्बन्धित खबर