झापा, १ असार : जिल्ला प्रहरी कार्यालय झापाले जेठ महिनामा विभिन्न मुद्दामा फरार रहेका ५१ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये ४३ जना पुरुष, ७ जना महिला र १ जना तेस्रो लिङ्गी छन्। प्रहरीका अनुसार, उच्च अदालत विराटनगर इलाम इजलासको २०७२ सालको फैसलाले जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दामा १० वर्ष कैद सजाय तोकिएर फरार रहेका मेचीनगर–७ निवासी ३२ वर्षीय प्रदिप राई र उच्च अदालत पाटनको फैसलाले राजश्व चुहावट मुद्दामा १ वर्ष २ महिना १५ दिन कैद तथा २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना तोकिएका बिर्तामोड–८ निवासी ३० वर्षीय अमिर लगुन विश्वकर्मा पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरूमध्ये कैद सजाय बाँकी रहेकाहरूलाई झापा जिल्ला अदालतको आदेशअनुसार कारागार चलान गरिएको छ । प्रहरीले जेठ महिनामा २ करोड ९९ लाख ७८ हजार ५६० बराबरको जरिवाना असुल गरेको जनाएको छ ।




