बिर्तामोड, २ झापा : बिर्तामोड नगरपालिकाले सडक सञ्जाल र अन्य भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण प्रगति हासिल गरेको जनाएको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईंले नगरवासीको आवश्यकता र बजेटको अवस्था हेरेर विकास निर्माणलाई अगाडि बढाइएको बताउनुभयो। उहाँले भौतिक पूर्वाधारका क्षेत्रमा भएका कामहरू स्पष्ट रूपमा देखिने गरी गरिएको र आगामी दिनमा प्राथमिकताका आधारमा संरचनाहरू बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। बिर्तामोडको विकासमा माथिल्लो तहबाट पनि सहयोग प्राप्त भइरहेको र आगामी दुई वर्षभित्र सबै सडक निर्माणको काम सम्पन्न गरिने उहाँको भनाई छ।
नगर-उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरपालिकाले सडक क्षेत्रमा जनताले महसुस गर्ने गरी काम गरेको जानकारी दिनुभयो।उपप्रमुख संग्रौलाका अनुसार नगरपालिकाले २१३ किलोमिटर कालोपत्रे र पेभर्स सडक निर्माण सम्पन्न गरेको छ भने ३०६.५२ किलोमिटर सडक ग्राभेल गरिएको छ।
अन्य प्रमुख पूर्वाधार विकासका कार्यहरू:
आवास तथा भवन निर्माण:
५९२ वटा विपन्न आवास निर्माण।
९० वटा भवन मर्मत।
१८२ वटा सामुदायिक भवन मर्मत तथा निर्माण।
१० वटा अस्पताल निर्माण।
६ वटा प्रशासनिक भवन निर्माण।
सडक पूर्वाधार तथा जल निकास:
३१.८ किलोमिटर नाला ड्रेन निर्माण।
५४.५१ किलोमिटर प्लम निर्माण।
१५१ वटा कल्भर्ट निर्माण र ४२ वटा कल्भर्ट मर्मत।
९ वटा फलामे पुल र ३ वटा झोलुङ्गे पुल निर्माण।
११७१ वटा ह्युमपाइप कल्भर्ट जडान।
९४३१.३ मिटर तटबन्धन निर्माण।
विद्युत तथा खानेपानी:
२६२ वटा बिजुलीको पोल विस्तार।
१४ वटा सोलार सडकबत्ती र ९९६ वटा सडकबत्ती जडान।
१०,३४० मिटर खानेपानी पाइपलाइन विस्तार।
५१ थान ट्युबेल उपलब्ध।
६० मिटर नहर कुलो निर्माण।
अन्य:
५३१ परिवारलाई गोबरग्यास प्लान्ट जडानमा सहयोग।
९ वटा खेल मैदान निर्माण।
आगामी योजना र सहकार्य
नगर उपप्रमुख संग्रौलाका अनुसार बिर्तामोड नगरपालिकाले सडक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ। केही सडकहरू निर्माण गर्न बाँकी रहे पनि अबको २ वर्षभित्र सबै सडक पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।बिर्तामोडका कुनै पनि वडाबाट नगर जोड्ने सडकहरू निर्माण गर्न बाँकी नरहेको बताइएको छ।कालोपत्रे र पेभर्समा गुणस्तरलाई ध्यान दिइएको र बाँकी रहेका सडकको काम पनि दुई वर्षभित्र सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो। पालिकाबाट-पालिका जोड्ने सडकहरू निर्माणका लागि नगरपालिकाले प्रदेश र संघीय सरकारसँग सहयोग लिनेछ। साना सडकहरूको निर्माणमा भने पालिकाले जनतासँग ६०-४० को साझेदारी गरेको छ।
निर्माणाधीन तथा योजनाबद्ध सडकहरू:
बिर्तामोड १ र बिर्तामोड ५ बाट अर्जुनधारा जाने सडक जोडिएको।
बिर्तामोड २ देखि कनकाई जाने सडक जोडिएको र घाग्रा खोलामा ट्रस्ट पुलको लागि स्माप निर्माण जारी।
देउनियाँ खोला हुँदै हल्दिवारी र हर्चनादेखि हल्दिवारी जाने सडकमा काम जारी।
सैनिकमोड गोल्धाप निर्माण सम्पन्न हुने तयारीमा।
द्रोणमार्ग–बाह्रदशी–कट्टरडाँगी सडक आगामी साउनभित्र सम्पन्न गर्ने योजना।
बिर्तामोड २ का ठूला सडक निर्माणको काम सम्पन्न।
गरामनी पूर्व पुरानो गोल्धाप शिविर जाने सडक निर्माणको आवश्यकता।
नगरको ठूलो योजनाका रूपमा रहेको बुट्टाबारी–प्याकुरेल सडक आगामी भदौभित्र सम्पन्न हुने।





