झापा, ७ असार : झापाको अर्जुनधारा नगरपालिका–१ दखलबस्तीका ७० वर्षीय बलबहादुर बसेल हलुवागढ सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्।
बसेल हिजो साँझ करीब ५ बजे दाउरा खोज्न घरबाट निस्किए पनि रातिसम्म नफर्किएपछि आफन्त र स्थानीयहरुले खोजी थालेका थिए। खोजतलासको क्रममा बसेल सोही वनभित्रको गैरे खोल्सी क्षेत्रमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।
आज बिहान ८ः१५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायब निरीक्षक उमेश श्रेष्ठको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित बनाएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक सन्तोष राईको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
मृतक बसेलको शव परीक्षणका लागि तयारी भइरहेको छ भने घटनाको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ।
