झापा, १० असार: हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४९ करोड ७७ लाख ७१ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औं गाउँसभा सोमबार सम्पन्न भएको हो।
गाउँसभा अध्यक्ष तथा गाउँपालिका प्रमुख रविन्द्र प्रसाद लिङ्देनले समग्र विकासलाई लक्ष्य बनाउँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। प्रमुख अतिथि प्रदेश सांसद छविलाल चुडालको उपस्थिति रहेको सभामा कृषि, स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
कृषि क्षेत्रमा यान्त्रीकरण र पशुपालनलाई जोड
बजेटमा किसानको आय वृद्धिको लागि ५०५ लागत साझेदारीमा कृषि यान्त्रिकरण, प्राङ्गारिक मल उत्पादनमा साझेदारी, माटो परीक्षण र बाली सुधार कार्यक्रम, रोग तथा कीरा नियन्त्रण शिविर, सामुदायिक नर्सरी, ूहल्दीबारीको हल्दीू कार्यक्रम, पशुहरूमा महामारीजन्य रोग रोकथाम, चिस्यान केन्द्र स्थापना लगायतका योजना समावेश छन्। दूध र मासु निर्यात प्रोत्साहनसमेत गरिएको छ।
शिक्षामा गुणस्तर वृद्धिमा जोड
शिक्षा क्षेत्रमा कक्षा १२ सम्मको निशुल्क शिक्षालाई निरन्तरता दिइने छ। सबै विद्यालयमा घुम्ती कम्प्युटर शिक्षक, विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम, दलित, आदिवासी तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण, शिक्षक तालिम लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
स्वास्थ्यमा पहुँच र प्रभावकारिता
स्वास्थ्य क्षेत्रमा प्रसूति पोषण प्रोत्साहन, जनता उपचार कोष, आकस्मिक स्वास्थ्य सेवा, पूर्ण खोप सुनिश्चितता, स्वास्थ्य बीमा निरन्तरता, निशुल्क रगत सेवा, बालमैत्री, पोषणमैत्री र क्षयरोगमुक्त पालिका निर्माणका लागि चरणबद्ध कार्यक्रम सञ्चालन गरिनेछ। निशुल्क खानेपानी कार्यक्रम पनि निरन्तर चल्नेछ।
भौतिक पूर्वाधार र वातावरण संरक्षणमा जोड
सबै वडामा भौतिक पूर्वाधार निर्माण प्राथमिकताको आधारमा गरिनेछ। बालमैत्री पालिका घोषणा, सामुदायिक वनहरूसँग सहकार्यमा वातावरण संरक्षण, सहकारी व्यवस्थापन र तालिम कार्यक्रमहरू पनि पारित गरिएको छ।
गाउँपालिका गान स्वीकृत
सभाबाट हल्दीबारी गाउँपालिकाको गान सर्वसम्मत रूपमा स्वीकृत भएको छ। अबदेखि औपचारिक कार्यक्रममा राष्ट्रगानपछि पालिका गान गाइनेछ।
कर्मचारीहरू सम्मानित
गाउँसभा अन्तर्गत हल्दीबारी वडा नं। ४ का वडा सचिव जयप्रसाद पोखरेल र स्वास्थ्य चौकी प्रमुख रामप्रसाद ढकाललाई दीर्घसेवा सम्मान प्रदान गरिएको छ। दुबैजना आगामी साउनबाट अवकाश पाउन लागेका हुन्।
विधेयकहरू पारित
उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले प्रस्तुत गर्नुभएको विनियोजन तथा आर्थिक विधेयक २०८२ पनि सभाले पारित गरेको छ। बजेट तथा कार्यक्रम प्रवक्ता देवीबहादुर थापाले सार्वजनिक गर्नुभएको थियो। गाउँसभा अध्यक्ष लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा सबै जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो।


