चितवन, १३ असारः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताउनुभएको छ । चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
नेपाली काँग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसंगमा सञ्चारकर्मीहरुको जिज्ञासमा सभापति देउवाले समयमै काँग्रेस महाधिवेशन हुने बताउनु भयो । सभपति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रुपमा हेर्न नहुने बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘एउटा सानो कुरा थियो । टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो । सानो कुरा हो । ठूलो कुरै होइन । काँग्रेस महाधिवेशन समयमै हुन्छ । कहाँबाट हुनु झुटो कुराहरु हो ।’ सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो रहेको बताउनु भयो ।
सभापति देउवा, काँग्रेस नेता शशांक कोइराला, विमलेन्द्र निधि, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत नेताहरू आज नेपाली कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन आउनुभएको हो।


