झापा । बिर्तामोडबाट प्रकाशित इजलास दैनिक सातौं वर्षमा प्रवेश गरेको छ । टाइम्स मिडिया नेटवर्क प्रा.लिद्वारा प्रकाशित इजलास दैनिकले संक्षिप्त कार्यक्रम गरी सातौं वार्षिक उत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा इजलास दैनिकले अर्जुनधाराका संवाददाता इन्द्रकुमार राईलाई नगद पाँच हजार र प्रमाणपत्र सहित सम्मान गरेको छ । सम्मानित राईलाई टाइम्स मिडिया नेटवर्कका अध्यक्ष अध्यक्ष नारायणप्रसाद पोखरेल र प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रममा इजलास दैनिकलाई शुभकामना दिदैं प्रमुख अतिथि गणेश पोखरेलले झापामा कसैले उठाउन नसक्ने जनताको मुद्धालाई इजलासले मात्र उठाइरहेको बताउनुभयो । उहाँले समाजमा जनताको समस्या इजलासले मात्र उठाउन सक्ने भन्ने बुझाईको विकास भइरहेको बताउनुभएको छ । जटिल परिस्थितिका बीच इजलास दैनिकले नागरिकहरुको आवाज बनेर निरन्तरता दिएकोमा पोखरेलले धन्यवाद व्यक्त गर्नुभयो । पोखरेलले झापामा आवाज बिहीनको आवाज बन्ने सञ्चार माध्यम खोजी गर्ने हो भने इजलास दैनिक सबैभन्दा अगाडि आउने स्पष्ट पार्नुभयो ।

यसैगरी विर्तामोड नगरका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले इजलास दैनिकले निरन्तर जनताको पक्षमा काम गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि जनताको मुद्धा उठाइरहन शुभकामना दिनुभयो ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।



