शनिवार, असार २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

कुलिङ पिरियडसम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग

बुधवार, असार १८, २०८२

काठमाडौँ, १८ असारः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधिसभा, राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सो प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।
 
“विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको होइन । यो सुनियोजित तरिकाले गरिएको हुनसक्छ । यसको जिम्मा नैतिक रूपमा संसद्को नेतृत्वले समेत लिनुपर्छ”, सापकोटाले भन्नुभयो ।
 
उहाँले नेपाल शिक्षक महासङ्घसँग संसद्बाट असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भए पनि हालसम्म पारित नहुन दुःखद् भएको टिप्पणी गर्नुभयो । सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकार भएका पक्षहरूबीचको अन्तरविरोध बाहिर देखिनुले सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि हुन्छ”, उहाँले भन्नुभयो ।
 
प्रवक्ता सापकोटाले शिक्षा विधेयक यथाशीघ्र पारित गरी शिक्षकलाई आन्दोलनका लागि बाध्य नपार्न आग्रह गर्नुभयो । माओवादीले विपद्बाट हुनसक्ने क्षतिको पूर्वानुमान गर्दै क्षति कम गर्न र राहत तथा उद्धारमा आवश्यक तयारी गर्न सरकारसँग माग गरेको छ ।
 
प्रवक्ता सापकोटाले कृषि क्षेत्रको समग्र समस्या समाधान गर्दै कृषकहरूलाई आवश्यक पर्ने मल, बीउ तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सम्बन्धित खबर