सोमवार, साउन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

NYEF झापा च्याप्टरको अध्यक्षमा गणेश पौडेल निर्वाचित

शनिवार, असार २१, २०८२

बिर्तामोड, २१ असार : नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) झापा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी गणेश पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
शुक्रवार साँझ धुलाबारी स्थित एचएमसीमा सम्पन्न दोस्रो साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

झापा च्याप्टरका संस्थापक अध्यक्ष प्रवेश बस्नेतले नयाँ कार्यसमितिको घोषणा गर्नुभएको थियो। समितिको प्रथम उपाध्यक्षमा मिजास पोखरेल, द्वितीय उपाध्यक्षमा सुरज चौधरी, र सदस्यहरूमा अजित ढुङगाना, विशाल विमली, मनिष साहेवाला, विकास अग्रवाल, आशिष शर्मा, आयुश बजगाई, उत्सव उप्रेती, समाली मैनाली र निरज चौधरी चयन हुनुभएको छ।

कार्यक्रमका अध्यक्ष डा. रुपेशजंग बेलबासेले आफ्नो कार्यकालमा सम्पन्न सामाजिक कार्यहरूको जानकारी गराउनुभएको थियो। उहाँले युवा उद्यमीहरूसँग अन्तरक्रिया, विद्यार्थीलाई सहयोग तथा स्वास्थ्य शिविरहरू सञ्चालन गरिएको उल्लेख गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष गणेश पौडेलले आफ्नो प्रतिवद्धता मन्तव्यमा झापा च्याप्टरका गतिविधिहरूलाई थप प्रभावकारी बनाउने बताउँदै स्थानीय उद्यमशीलताको प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पराज पराजुली, एनवाईइएफका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य दिपक नेपाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, तथा महिला उद्यमी शर्मिला अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थापक अध्यक्ष प्रवेश बस्नेतले दिनु भएको थियो ।

सम्बन्धित खबर