बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अधिवेशन भोलि

आइतवार, वैशाख ३, २०८०

बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । महासंघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिइएको हो ।

बिर्तामोडको अतिथि सदनमा भोलि वैशाख ४ गते बिहान ११ बजे प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गर्ने तय भएको छ ।

उद्योग तथा व्यवसायको क्षेत्रमा लागेका तथा प्रगतिशील सोच भएका युवा लगानीकर्ताको सामुहिक नेतृत्व गर्दै व्यवसायिक हकहितका लागि आवाज उठाउने सशक्त संगठनका रुपमा महासंघलाई चिन्नुपर्ने केन्द्रीय सदस्य अर्जुन मैनाली बताउँछन् । देशमा लगानीमैत्री वातावरण बनाउँदै राज्यलाई कर तिर्न उत्प्रेरित गर्दै आएको महासंघको सक्रियतामा नै बहाल पिठ्यौरी कर खारेज गर्न सफल भएको केन्द्रीय सदस्य मैनालीले पत्रकारहरुलाई जानकारी दिए ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नु महासंघको समेत दायित्व रहेको बताउँदै नगर कमिटी अध्यक्ष विवेक निरौलाले अधिवेशनमा वर्तमान तरलता अभाव र आर्थिक मन्दीका विषयमा गहन छलफल गरी तीनै तहका सरकार समक्ष दवाव दिने रणनीति बनाउने बताए ।

दुई वर्षे कार्यकाल रहेको नगर कमिटीको अधिवेशनले ३१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नगर कमिटीमा अध्यक्ष १ जना, उपाध्यक्ष २ जना, सचिव १ जना, उपसचिव २ जना र कोषाध्यक्ष १ जना गरी सात सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारीमा दुईजना महिला अनिवार्य रहनेछन् । कमिटीको अध्यक्षमा युवराज निरौला र गोमा भट्टराई को चर्चा रहेको छ ।

 
सम्बन्धित खबर