बिर्तामोड, २२ असार : चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक गरिएको छ। झापासहित देशभर पोस्टर एकैसाथ सार्वजनिक गरिएको हो। बिर्तामोडस्थित क्यूएफएक्स सिनेमा हलमा आयोजित विशेष कार्यक्रममा पोस्टर सार्वजनिक गरिएको हो।
कार्यक्रममा नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोख्रेल, नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केबलराम तामाङ, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापा, व्यवसायी शैलेन्द्र कुरुम्वाङलगायतको उपस्थिति रहेको थियो।
पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल चलचित्र संघका केन्द्रीय सदस्य पोख्रेलले नेपाली चलचित्रलाई माया गर्न सबैलाई आग्रह गर्नुभयो। चलचित्रले नेपाली समाजका यथार्थ घटनालाई पर्दामा उतार्ने प्रयास गरेको भन्दै उहाँले एक पटक चलचित्र अवश्य हेर्न आग्रह गर्नुभयो।
त्यस्तै, चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष तामाङले पनि चलचित्रप्रति सकारात्मक भावनासहित साथ दिन सबैलाई आग्रह गर्नुभयो। सफल कलाकारहरूको अभिनय रहेको यस चलचित्रले नेपाली सिने क्षेत्रमा नयाँ रेकर्ड कायम गर्ने विश्वास व्यक्त गर्नुभयो।
चलचित्रको निर्देशन हिमाल न्यौपानेले गर्नुभएको हो भने प्रमुख कलाकारमा विजय बराल रहेका छन्। साथै, भोलाराज सापकोटा, आरुष भुसाल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्र आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। चलचित्रको एसोसियट निर्देशक मनीष राउत हुन् भने कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको हो।
चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। छायांकन नवीन गुरुङ र कृष्ण परियारले गर्नुभएको हो।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुनुहुन्छ।
दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशकको रूपमा संलग्न हुनुहुन्छ। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुनुहुन्छ भने चलचित्रको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ।
पोस्टर सार्वजनिक कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ झापाकी सदस्य सुनिता तामाङले गर्नुभएको थियो।



