बिर्तामोड, २२ असार : बिर्तामोड नगरपालिकाले उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालनका लागि प्रविधि हस्तान्तरण गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गर्दै महिला उद्यमीहरूलाई विभिन्न सिलाई तथा प्याकेजिङ उपकरणहरू हस्तान्तरण गरेको हो।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत ब्याग सिलाउने मेसिन ४ थान, इन्टरलक मेसिन ४ थान, पिको मेसिन १ थान र हेवी सिलाई मेसिन ८ थान वितरण गरिएको हो । उद्यमशिलता तालिम लिएका महिलाहरुलाई व्यवसाय सञ्चालनमा स्थानीय तहको तर्फबाट साझेदारीमा सहयोग उपलव्ध गराएको सहजकर्ता चनिमाया तामाङले जानकारी दिनुभयो ।
ससर्त अनुदानबाट १ लाख ४० हजार, आन्तरिक स्रोतबाट १ लाख ६० हजार र उद्यमी महिलाहरुको १ लाख ७ हजार ४८० रुपैयाँ लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको जनाइएको छ । नगरपालिकाले महिलाहरुलाई यसअघि ब्याग बनाउने ४५ दिन र सिलाई कटाई सम्बन्धी दुई महिना नि:शुल्क तालिम प्रदान गरेको थियो । सोहि कार्यक्रमका बीच भुजिया बनाउने महिलाहरुलाई पनि इलेक्ट्रिक तराजु र प्याकेजिङ मेसिन प्रदान गरिएको छ ।बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र लगायतले सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले महिलाहरुको आर्थिक उपार्जनका लागि प्रविधि सहयोग गरेको बताउनु भयो । उहाँले सीप र प्रविधिको अधिकतम सदुपयोग गर्न सबैलाइ सूझाव समेत दिनुभएको छ । यस्तै उपप्रमुख संग्रौलाले स्थानीय सरकारले रोजगारी सिर्जना गर्नलाई सहयोग गरेको बताउनुभयो । उहाँले पालिकाले दिएको सामानको दुरुपयोग भए सामान जफत गरिने चेतावनीसमेत दिनुभयो ।
आर्थिक विकास समिति संयोजक संगिता शिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी खतिवडाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वरिष्ठ योजना अधिकृत जय तिम्सिना, कार्यपालिका सदस्य तिला गौतम, निर्मला ल्वागुन लगायतको उपस्थिति रहेको थियो ।
