काठमाडौँ, २३ अुसार: फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौँसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो। काठमाडौँ, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ पोस्टर अनावरण गरिएको हो।
‘देशभर एकसाथ सिनेमाको पब्लिसिटी होस् र सिनेमालाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ,’ ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’का निर्माता विमल न्यौपानेले भन्नुभयो।
चलचित्रको पब्लिसिटी केही फरक तरिकाले गर्दा दर्शकको ध्यान खिच्ने अपेक्षाले निर्माण टिमले देशका ठूला सहरमा एकसाथ पोस्टर सार्वजनिक गरेको हो। मोफसलका दर्शकलाई पनि सिनेमाबारे जानकारी दिने उद्देश्य रहेको निर्माता न्यौपानेले जानकारी दिनुभयो ।
निर्माणपक्षले यसअघि नै फर्स्ट लुक्स सार्वजनिक गरेको थियो। जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’लाई हिमाल न्यौपानेले निर्देशन गर्नुभएको छ।‘ जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ। चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुनुहुन्छ ।
बलियो लाइनअप देखिएको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको हो। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक हनुभएको छ । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुनुहुन्छ।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो।



