बिर्तामोड, २८ असार: झापाको बिर्तामोडमा अवस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले नयाँ शैक्षिक सत्रदेखि विए एलएलबी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कक्षा सञ्चालन गर्ने भएको छ।
शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कलेजले प्रविधिमा बढ्दो आवश्यकता र सम्भावनालाई ध्यानमा राख्दै बीटेक इन एआई को नयाँ कक्षा सुरु गर्ने घोषणा गरेको हो। कलेजका प्राचार्य डा। रुपकप्रसाद खनालका अनुसार, उक्त कक्षा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन गरिनेछ। कोर्स ८ सेमेष्टरको हुनेछ भने शुल्क ६ लाख २३ हजार रुपैयाँ तोकिएको छ। यस कार्यक्रममा ४८ जना विद्यार्थी भर्ना गर्न सकिने कोटा तोकिएको छ।
यसका साथै, कलेजले विए एलएलबी कोर्स पनि यसै सत्रदेखि सुरु गर्ने भएको छ। राजश्री जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कार्यक्रम १० सेमेष्टरको हुनेछ र ६ लाख रुपैयाँ शुल्क लाग्नेछ। यो कोर्समा ४० जना विद्यार्थी भर्ना गर्न सकिनेछ। प्लस टु तहमा जुनसुकै संकायबाट उत्तीर्ण विद्यार्थीहरुले यो कोर्समा भर्ना हुन सक्नेछन।
कलेजकी प्रमुख सरस्वती भुर्तेल खनालका अनुसार, प्रत्येक कार्यक्रममा भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराइनेछ। साथै, प्रत्येक सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने एक जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने कलेजले जनाएको छ।
विसं २०५३ सालमा स्थापना भएको गोमेन्द्र बहुमुखी महाविद्यालयमा हाल बिसिए इन आइटी, बिबिए, एमबीए, एमसीए लगायतका कक्षाहरु सञ्चालनमा रहेका छन्। नयाँ कोर्षहरुको सुरुवातसँगै कलेजले शिक्षामा गुणस्तर थप उचो बनाउने लक्ष्य लिएको छ।



