विराटनगर, ३२ असार: मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट अवैध पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल छन् ।
इलाका प्रहरी कार्यालय रंगेली र पोखरियाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा मंगलबार बिहान ६ बजे उनीहरूलाई घरमै छापा मारेर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, स्थानीय दिनेश मण्डलले बनाएको छाप्रोभित्र प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा ‘मेड इन जापान’ लेखिएको सिक्सर पेस्तोल फेला परेको छ । त्यसै स्थानबाट एक थान खुकुरी, एक नक्कली पेस्तोल र मोबाइल फोन पनि बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा हतियार लुकाउन उनीहरू संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोप लागेका २० वर्षीय मुकेशकुमार महतो भने फरार छन् । प्रहरीले पक्राउ परेकाविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।


