झापा, ८ साउनः गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको कोषाध्यक्ष पदका लागि लुना सिवाकोटीले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहँले संस्थामा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वमूलक नेतृत्व स्थापना गर्ने उद्देश्यसहित ‘विश्वास माग्ने’ अभियानमार्फत उम्मेदवारी सार्वजनिक गर्नुभएको हो।
सिवाकोटी हाल (२०२३–२०२५) एनआरएनए न्यू साउथ वेल्सको सदस्य पदमा कार्यरत हुनुहुन्छ। यसअघि नेपालमा झापा जिल्लामा अपाङ्गता क्षेत्रमा क्रियाशील लेखाजोखा केन्द्रको जिल्ला संयोजकको रूपमा कार्य गरेको अनुभव पनि उहाँले उल्लेख गर्नुभएको छ। 'कोष भनेको केवल रकम होइन, यो विश्वास हो' भन्दै उहाँले कोषको पारदर्शी व्यवस्थापन आवश्यक रहेको बताउनुभयो।
उहाँको योजना अन्तर्गत डिजिटल ट्र्याकिङ प्रणाली, नियमित प्रतिवेदन प्रस्तुति र सदस्यमैत्री बजेट व्यवस्थापन प्रणाली लागू गर्ने लक्ष्य छ। साथै, उनले संस्थाको आर्थिक कार्यप्रणालीलाई व्यवहारमा पारदर्शी बनाउने दृढता व्यक्त गर्नुभएको छ।
सिवाकोटीले सत्ता होइन सेवा आफूले रोजेको बताउँदै सबैको विश्वास, साथ र सुझावको अपेक्षा गर्नुभएको छ। “तपाईंको मतले मलाई जिताउने मात्र होइन, पारदर्शी भविष्य निर्माण गर्न पनि मद्दत गर्छ,” भन्दै उहाँले समर्थनको आह्वान गर्नुभएको छ।



