बाह्रदशी, ८ साउन : रोटरी क्लब अफ बिर्तामोड मिड टाउनको आयोजनामा झापाको बाह्रदशी गाउँपालिकामा एक दिने सचेतनामूलक मातृ–शिशु स्याहार तथा पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न भएको छ।
बाह्रदशी गाउँपालिका–४ मा रहेको चकचकी स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो। नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीका अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको विशेष पहलमा कार्यक्रम आयोजना गरिएको हो। रोट्र्याक्ट क्लब अफ बिर्तामोडको सह–आयोजना तथा बाह्रदशी गाउँपालिका–४ को व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रम वडाध्यक्ष महताव आलमको प्रमुख आतिथ्यतामा तथा रोटरी क्लब अफ बिर्तामोड मिड टाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्हा ठाकुरीको अध्यक्षतामा सम्पन्न भएको हो।
क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियङ्का कटुवाल, होम कार्की, अनिल सापकोटा, स्वास्थ्य शाखा प्रमुख राम शाहलगायतको आतिथ्य रहेको कार्यक्रममा क्लबका सचिव रोशन बुढाथोकीले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमका स्वागतकर्ता अनिल सापकोटाले सहभागीतालाई धन्यवाद ज्ञापन गर्नुभयो। प्रमुख अतिथि वडाध्यक्ष आलम र स्वास्थ्य शाखा प्रमुख साहले रोटरी क्लबले सञ्चालन गरेको कार्यको प्रशंसा गर्नुभएको थियो।
क्लबकी अध्यक्ष सिन्हाले गर्भावस्थाको सुरक्षा र हेरचाहबारे सहभागी गर्भवती महिलाहरूलाई जानकारी दिनुभयो। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियङ्का कटुवालले गर्भावस्थामा देखिन सक्ने समस्या तथा तिनको समाधानबारे प्रशिक्षण दिनुभएको थियो।
२५ जना भन्दा बढी गर्भवती महिलालाई छुट्टाछुट्टै ओपीडी सेवा प्रदान गरिएको थियो। कार्यक्रम अन्तर्गत वडा नं. ४ का ५० जना गर्भवती महिलाको सहभागिता रहेको थियो। उनीहरूलाई निःशुल्क पौष्टिक आहार वितरण गरिएको थियो।
यसैबीच डा. प्रियङ्का कटुवालले एक जना गर्भवती महिलाको शल्यक्रिया आवश्यक परेको हुँदा सो शल्यक्रिया निःशुल्क गर्ने घोषणा गर्नुभएको छ।



