झापा, १० साउनः झापामा लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले शनिबार दिउँसो भद्रपुरमा नियन्त्रण प्रयासका क्रममा गोली चलाएको हो।
ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ गरिने क्रममा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। गोली लाग्दा भारतीय नागरिक मोहम्मद इस्लाम घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको र हाल उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको छ।
इस्लामको साथबाट करिब १२० ग्राम खैरो हिरोइन बरामद गरिएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



