बिर्तामोड, ११ साउन: झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले आफ्नो पेशागत अनुभव र प्रेरणादायी भोगाईहरु आज नयाँ पुस्ताका पत्रकारहरु माझ सुनाउनु भएको छ ।
प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रममा उहाँले पत्रकारिता यात्राको सुरुदेखिका जीवन भोगाईहरु सुनाउनु भएको हो ।
चौतारीको झापा शाखाले गत वैशाखदेखि ‘अग्रजलाई सुनौं’ कार्यक्रमको श्रृंखला चलाउँदै आएको छ । अग्रज दाहाल दोस्रो श्रृंखलामा मुख्य वक्ताको रुपमा आमन्त्रित हुनु भएको हो । यसअघि अर्का अग्रज पत्रकार शिरोमणि खतिवडा (शिरो सान्दाइ) पहिलो श्रृंखलामा मुख्य वक्ताको रुपमा उभिनु भएको थियो ।
पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अग्रज पत्रकार दाहाल हाल दमकबाट प्रकाशित पूर्वसन्देश दैनिकको सम्पादन तथा प्रकाशन गरिरहनु भएको छ ।
लेटर प्रेस हुँदै पत्रकारितामा प्रवेश गर्नुभएका दाहालले पत्रकारितामा भविष्य रहेको बताउनुभयो । पत्रकारिताबाटै जीवनमा सामाजिक र आर्थिक उन्नति गरेको बताउँदै उहाँले नयाँ पुस्तालाई नयाँ ढंगबाट निष्ठापूर्वक निरन्तर काम गर्न सुझाव दिनुभयो । नयाँ पत्रकारहरुले पुरानै शैली अपनाइयो भने यो क्षेत्रमा प्रगति गर्न नसकिने उहाँको भनाई थियो ।
पत्रकारितामा प्रवेश गरेको केहि समयपछि मात्रै पेशाको बारेमा जानकारी पाएको बताउनुभयो । ‘काम गर्दै गएपछि मात्रै पत्रकारिताको बारेमा थाहा भयो,’ उहाँले थप्नुभयो ।
अग्रजलाई सुन्न सहभागी नयाँ र अघिल्लो पुस्तासँग दाहालले पत्रकारितामा आफू नआएको भए बैंकिङ वा शिक्षण क्षेत्रमा जाने सम्भावना रहेको सुनाउनु भयो । ‘म पत्रकार बनेको थिइन भने एउटा राम्रो शिक्षक वा बैंकर्स बन्ने थिए,’ उहाँले भन्नुभयो –‘सुरु सुरुमा सम्मान पाएकै कारण पत्रकारितामा प्रेरित भएर लागियो । पछि त जीवन निर्वाह सहज हुनेगरी आर्जन पनि गरियो ।’
मासिक १२५ रुपैयाँमा शिक्षण समेत गर्नुभएका दाहालले अहिलेका पत्रकारहरुको लेखाईमा धेरै प्रभाव नरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘पहिले सानो समाचार बनाउँदा पनि ठुलै प्रभाव पर्ने थियो, अहिले पहिले जस्तो छैन ।’
कुनै पनि पेशामा निरन्तरता दिए मात्रै सफलता प्राप्त गर्न सकिने पत्रकार दाहालको धारणा छ । उहाँले भन्नुभयो– ‘निरन्तरताको मिहेनतले नै पूर्वसन्देश र मेरो पत्रकारिता सफल भएको हो । आज पनि मेरो पहिलो प्राथमिकता पत्रिकाकै काममा हुन्छ ।’
छापा पत्रकारिताको युग सकियो कि भन्ने टिप्पणीप्रति दाहालले असहमति जनाउँदै अझै पनि भविष्य रहेको बताउनु भयो । विज्ञापन र ग्राहक शुल्कबाट व्यवसायलाई अघि बढाइरहेको सुनाउनुभयो ।
०६२÷६३ को आन्दोलनहरुलाई स्मरण गर्दै शाही सेना र माओवादी विद्रोहीको दोहोरो दवदवा रहेका अवस्थामा समाचारमा सन्तुलन ल्याउनु चुनौतिपूर्ण रहेको विषयमा रोचक प्रसंगहरु सुनाउनु भएको थियो ।
दुई पटक प्रहरीले पत्रिका र छापाखानामा छापा मारे पनि पत्रिकार र छापाखानाको काम बन्द नगरेको उहाँले सुनाउनुभयो । पत्रिकामा आम नागरिकलाई धेरै विश्वास हुने भन्दै उहाँले पत्रकारहरुलाई खोज समाचारमा लाग्न आग्रह समेत गर्नुभयो ।
झापामा अग्रज पत्रकारहरुको जीवन अनुभव, पत्रकारिता क्षेत्रमा गरेका संघर्षहरु सुन्नका लागि प्रेस चौतारी नेपाल झापाले सुरु गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रम प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् ।
कार्यक्रमको अध्यक्षता गर्नुभएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारले अग्रज पुस्ताका अनुभव र भोगाइहरु नयाँ पुस्ताका लागि प्रेरणादायी हुने भएकाले हरेक तीन–तीन महिनामा कार्यक्रमलाई नियमित गरिने बताउनुभयो ।
कार्यक्रममा अग्रज पत्रकार दाहाललाई सहभागीहरुले विभिन्न जिज्ञासा समेत राख्नु भएको थियो । दाहालले जिज्ञासाहरुको उत्तर दिनु भएको थियो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज माधव विद्रोही, केन्द्रीय सदस्यहरु सावित्रा दाहाल
, शम्भु दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।



