बिर्तामोड, १६ साउन : बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणाधीन काँकडभिट्टा–लौकही सडक योजनाअन्तर्गत बिर्तामोड बजार क्षेत्रको काम चाँडै सम्पन्न गर्न आग्रह गर्नुभएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, आयोजना निर्देशनालय (ADB) सासेक राजमार्ग अभिवृद्धि आयोजनाद्वारा आयोजित यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै प्रमुख प्रसाईले कुनै समस्या आए छलफल र समन्वयमार्फत समाधान गर्न नगरपालिका तयार रहेको बताउनुभयो। तर, ढिलाइ नगरी तीव्र गतिमा काम अघि बढाउनु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
नगर प्रमुख प्रसाईले बिर्तामोडका धेरै स्थान डुवान सम्भावित क्षेत्र भएकोले सडक दुबै छेउमा समानान्तर ड्रेन निर्माण गर्न सुझाव दिनुभयो। साथै, वाइपास मार्गमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। यौन रोग र मानव बेचबिखनजस्ता सामाजिक विषयमा जानकारी र सचेतना अत्यावश्यक भएकाले सबैले यसप्रति जिम्मेवार हुनुपर्नेमा पनि उहाँको जोड थियो।
कार्यक्रममा ADB का कन्सल्टेन्ट सिता राना र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक प्रदीप आलेमगरले यौन रोग र मानव बेचबिखनसम्बन्धी प्रस्तुति राख्नुभएको थियो।
उक्त कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नं. २ का वडाध्यक्ष किशोर पौडेल, लैंगिक समानता तथा समावेशीकरण विज्ञ जीवन सिंह, काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का इन्जिनियर आश्रय महत, तथा वडा नं. १ देखि ६ सम्मका ९० जना बढी सरोकारवालाहरुक सहभागीता थियो ।



