बिर्तामोड, २१ साउन : झापाको अर्जुनधारा नगरपालिका–५ चाँदनीचोककी दिपा गिरी आफ्नो नौ महिनाको छोरी अनुश्री गिरीलाई एक्कासि छारेको झट्का लाग्न थालेपछि अत्यन्तै आत्तिनुभयो। साउन २ गते बिहान ४ बजे सुतिरहेको अवस्थामा अनुश्रीलाई अचानक छारेले समात्यो। छारे निरन्तर आइरहँदा दिपा गिरी छोरीलाई तत्काल नजिकैको क्लिनिक पुर्याउनुभयो। क्लिनिकबाट बच्चाको आईसीयू सुविधा भएको अस्पताल लैजान सुझाव दिइएपछि उहाँ छोरीलाई बिर्तामोड चिल्ड्रेन अस्पताल ल्याउनुभयो।
“अस्पताल ल्याएको बेलामा चिकित्सकको निगरानी र नर्सहरूको माया, स्याहार देख्दा मेरो छोरी ठिक हुन्छ भन्ने विश्वास जाग्यो,” दिपा गिरीले भावुक हुँदै भन्नुभयो, “आज त्यो विश्वास पुरा भएको छ, म अत्यन्तै खुसी छु।”
बिर्तामोड चिल्ड्रेन अस्पतालका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रूपक आर्चायका अनुसार अनुश्रीलाई सुपर रेफ्रेक्टरी स्टाटस एपिलेप्टिकस नामक रोग लागेको थियो। यो एक दुर्लभ प्रकारको गम्भीर न्युरोलोजिकल अवस्था हो, जुन विश्वभरमा हरेक १० लाखमध्ये करिब ४२ जनामा मात्र देखिन्छ। २४ घण्टासम्म लगातार छारे आइरहँदा ज्यानसमेत गुम्न सक्ने जोखिम रहन्छ।
“सामान्यतया छारे आउँदा औषधि दिएपछि नियन्त्रणमा आउँछ, तर अनुश्रीको अवस्थामा तीन डोजसम्म औषधि दिँदासमेत छारे रोकिएको थिएन,” डा. आर्चायले बताउनुभयो, “यस्तो अवस्थामा भेन्टिलेटरमा राखेर निरन्तर चिकित्सक र अनुभवी नर्सहरूको निगरानीमा उपचार गरियो, जसले अन्ततः सफलता दियो।”
उपचारको क्रममा केही दिन पिआईसीयूमा राखिएको अनुश्रीलाई विस्तारै भेन्टिलेटरबाट निकालियो। उपचारका क्रममा छारेको मात्रा क्रमशः कम हुँदै गयो। अहिले अनुश्री सामान्य अवस्थामा फर्किसकेकी छिन्। “छोरी अहिले खाना खान्छे, खेल्छे र गफसमेत गर्न थालेकी छे,” डा. आर्चायले भन्नुभयो, “सोमबार हामीले उनलाई अस्पतालबाट डिस्चार्ज गरेका छौं। यो सफलता चिकित्सक र नर्सिङ टिमको सतत प्रयासकै परिणाम हो।”
बिर्तामोड चिल्ड्रेन अस्पतालकी नर्सिङ इन्चार्ज गोमा सिटौलाका अनुसार नानीको उपचार सफल हुनुमा चिकित्सक, नर्सिङ टिम र अभिभावकबीचको समन्वयको महत्वपूर्ण भूमिका रहेको थियो। “२४ सै घण्टा चिकित्सकको निगरानी हुने व्यवस्था र नर्सहरूको समर्पित सेवा भएका कारण पछिल्लो समय बिर्तामोड चिल्ड्रेन अस्पतालमा विश्वास बढ्दो छ,” उहाँले बताउनुभयो।
बिर्तामोड चिल्ड्रेन अस्पताल पछिल्लो समय झापामै बालरोगसम्बन्धी विशेष उपचार सेवा प्रदान गर्ने अग्रणी संस्थाको रूपमा स्थापित हुँदै गएको छ। अनुभवी चिकित्सक, दक्ष नर्सिङ टिम, अत्याधुनिक उपकरण र बिरामीप्रति समर्पित सेवाको कारणले गर्दा अस्पतालप्रति सर्वसाधारणको विश्वास र भरोसा बढ्दै गएको छ।



