बिर्तामोड, २२ साउन: लागुऔषध नियन्त्रण ब्यूरो र बिर्तामोड प्रहरीले आज थप एक जना लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड–५ कंचन टोलका ४६ वर्षीय राजेन्द्र पन्धाक रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, पन्धाक फरार रहेका भानुभक्त खरेलका व्यवसायिक साझेदार थिए।
यसअघि साउन १ गते प्रहरीले बिर्तामोड–५ मंगलदीप टोलस्थित एक गोदामबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधिजन्य लागुऔषध बरामद गरेको थियो। गोदाम खरेलको नाममा सञ्चालनमा रहेको खुलेको थियो। उक्त गोदामबाट प्रहरीले २ लाख २१ हजार ४ सय वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल लागुऔषध बरामद गरेको थियो।
पन्धाकको निवासबाट समेत प्रहरीले २० हजार क्याप्सुल बरामद गरेको छ। अनुसन्धानमा खरेलले मनकुमार संग्रौलाको घर भाडामा लिएर उक्त गोदाम सञ्चालन गरेको पत्ता लागेको छ।
प्रहरीका अनुसार बरामद औषधिहरूमा ट्रामाडोल क्याप्सुल १ लाख ३ हजार ८ सय, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सने १ हजार ८७० एम्पुल, ट्रामाडोल एण्ड एसिटामिनोफेन ट्याब्लेट ४ हजार ५०, टर्मिपिल किट ७ हजार ६५०, जेनेग्रा एम टी रेड १०० एमजीका ८ हजार ९ सय ट्याब्लेट, र डाइक्लोमाइन एचसीएल ट्याब्लेट ९७ हजार थान रहेका छन्।
फरार रहेका खरेलका स्टाफ अर्जुनधारा–६, दासपुल निवासी २५ वर्षीय विनोद घिमिरेलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।



