काठमाडौँ, २२ साउन: ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको फिल्म ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। यो सिनेमाको ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई नै केन्द्रमा राखिएको छ।
सिनेमाको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ। मुख्य अभिनेता केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई ट्रेलरमा स्थान दिइएको छ। सार्वजनिक ट्रेलरमा मिस पबीलाई टेलिभिजन प्रस्तोता तथा गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको रुपमा देखाइएको छ।
एक गाउँले साधारण युवाको धनी बन्ने सपनाको कथावस्तुमा सिनेमा निर्माण भएको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ । केदारलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ। केदारले शीर्ष भूमिकामा अभिनय गरेको यो पहिलो सिनेमा हो। यसअघि उनी सहायक भूमिकामा सिमित थिए।
आगामी भदौ ६ गतेबाट रिलिज हुने सिनेमाले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको छ। बिना मिहेनत पैसा कमाउन नहुने सन्देश दिने सिनेमाको ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्। ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन्। निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन्।
नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ। आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ।
https://youtu.be/x2QZl1dqWbY



