झापा, २२ साउन : बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हल्दिबारीको एक सामुदायिक विद्यालयलाई पङ्खा हस्तान्तरण गरेको छ।
आज संस्थाले हल्दिबारी–५ स्थित धनुषा आधारभूत विद्यालयलाई ६ थान सिलिङ फ्यान (छतमा झुन्ड्याइने पङ्खा) हस्तान्तरण गरेको हो।
विद्यालयका कार्यवाहक अध्यक्ष ओमराज राईको अध्यक्षतामा आयोजित कार्यक्रममा हल्दिबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विगतका वर्षदेखि नै संस्थाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न सामग्रीहरू हस्तान्तरण गर्दै आएको छ। गर्मीको समयमा विद्यार्थीलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले विद्यालयलाई पङ्खा सहयोग गरिएको उहाँले स्पष्ट पार्नुभयो।
पङ्खा हस्तान्तरण कार्यक्रममा सिम्रिक साकोसका जनसम्पर्क प्रमुख विजय बस्नेत, आइटी सहायक विजय पाण्डे, बिर्तामोड उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष युवराज निरौला, हल्दिबारी गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि सुमन चौधरीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तबहादुर बजिहाङले स्वागत मन्तव्य दिनुभएको थियो। साथै, प्रमुख अतिथि राजन न्यौपाने, प्रशासन शाखा प्रमुख बाबुराम ढकाल, संस्थाका अध्यक्ष सुवास भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।



