झापा, २२ साउन : बिर्तामोडमा जुवा खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूलाई एक लाख १४ हजार ५५५ रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो।
बिर्तामोड नगरपालिका–५ स्थित बसपार्क छेउको ट्राफिक बिट नजिकै सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया–नास्ता पसलमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बुधबार साँझ ७ बजे छापा मारेको थियो।
पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ गोलाखर्क घर भई हाल बिर्तामोड–५, धिमाल चोकमा बसोबास गर्दै आएका ३८ वर्षीय तीर्थराज तामाङ, इलाम देउमाई–१, बरबोटे घर भई अर्जुनधारा–११, बसपार्कका ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङ पाथीभरा याङबरक–२, थेचम्बु घर भई बिर्तामोड–६, स्यालडाँगीका ४२ वर्षीय भूपालकुमार कटुवाल, पाँचथर हिलिहाङ–८, भारपा घर भई हाल बिर्तामोड–५, किराँत चोकका २९ वर्षीय मनकुमार कटुवाल, पाँचथर फिदिम–४, थापाटार घर भई बिर्तामोड–५, सगरमाथा टोलका ४९ वर्षीय हेमबहादुर थापा, झापा धरमपुर घर भई बिर्तामोड–५, बसपार्कका ५१ वर्षीय गोपाल श्रेष्ठ, पाँचथर लालीखर्क घर भई बिर्तामोड–६, बुट्टावारिका ३५ वर्षीय सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ–७ घर भई हाल बिर्तामोड–५, बसपार्कका ३५ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन्।
प्रहरीले घटनास्थलबाट ६ बुङ नखोलिएको तास, ६ बुङ खोलिएको तास र नगदसहित उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।



