काँकरभिट्टा, २२ साउन । लगातारको वर्षाले पहिरोको जोखिममा रहेको काँकरभिट्टाका केहि घरहरुको मेचीनगर नगरपालिका, जिल्ला प्रसाशन कार्यालय र सुरक्षाकर्मीहरुको टोलीले आज स्थलगत निरीक्षण गर्नुभएको छ ।
मेचीनगर–६, काँकरभिट्टा सूर्योदय मार्ग पूर्वपटिको मेची टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् ।३५ घर मध्ये पहिरोको उच्च जोखिममा रहेका ११ वटा घरको विहीबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बु, सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेडक्वाटर झापाका प्रमुख एसपी तुलबहादुर भण्डारी, ६ नं.वडाका वडाध्यक्ष ललितबहादुर तामाङ लगायत जनप्रतिनिधिहरुले निरीक्षण गर्नुभएको थियो ।
नगरप्रमुख बुढाथोकीले जोखिममा रहेका सबै घरहरुका विषयमा प्रमुख जिल्ला अधिकारी, नगरपालिका, राजनीतिक दल लगायत सबैसँग सर्वदलीय वैठक बसेर निर्णय गरिने बताउनुभयो । उच्च जोखिममा रहेका घरका जनतालाई जतिबेला पनि पहिरो आएर घर भत्कने भएकाले तत्काल विकल्पका रुपमा सुरक्षित आवास व्यवस्था गरिने जानकारी गराएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।
यही साउन १८ गते वर्षासँगै आएको पहिरोले टंकबहादुर भारती र ज्ञानबहादुर गिरीको घरको पछाडि पटिको भाग भत्काइदिएको छ । गिरीको एकतले जस्ताको छाना भएको घरको भान्सा र पर्खाल भत्किएको छ ।जोखिममा रहेका ११ घरका परिवारले पहिरोको जोखिम रोकथामका लागि वडामा निवेदन पेश गरेका छन् ।
पहिरोको जोखिममा टंकबहादुर भारती, ज्ञानबहादुर गिरी, डोलमाया पुरी, गणेश चौहान, हेमकुमारी बुढाथोकी, राजकुमार कार्की, तीलप्रसाद राई, कृष्ण रसाइली, उत्तम रसाइली, मानबहादुर रसाइली र डकबहादुर रसाइली रहेका छन् ।उच्च जोखिममा रहेका घरधनी भारतीका अनुसार यही साउन १८ गते दिउँसो पानी परिरहेको थियो । घरपछाडि कर्याक कर्याक गरेको आवाज आएपछि हेर्न जाँदा पहिरोले भान्सा र पर्खाल भत्कीयो । अब घर लड्ने भयो भनेर परिवार सबै हतार हतार भागेर बाटोतिर आएर गाउँलेहरुसँग गुहार माग्यो ।
जोखिममा रहेका घरको पछाडि पटि पानी पर्दाखेरि रोक्न केहि प्राविधिक कुराहरुको आवश्यक पर्ने भएकाले त्यसको रोकथामका लागि नगरपालिकासँग समन्वय गरेर उपाय खोजिने सीडीओ अधिकारीको भनाई छ ।
सोही विषयमा ताज होटलमा एकछिन छलफल भएको थियो ।



