झापा, २३ साउनः आज बिहान करिब ११ः३० बजे झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० र ७ को सिमानास्थित टेक्रा क्षेत्रमा पर्ने माईखोलामा डुबेर एक पुरुष बेपत्ता भएका छन्। कन्काई नगरपालिका वडा नं. ५ का ६० वर्षीय चन्द्रबहादुर बिक खोलाबाट दाउरा निकाल्ने क्रममा खोलाको भेलले बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
घटनापछि अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीहरूको सहयोगमा खोजतलास कार्य सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काका अनुसार उद्धार प्रयास जारी रहेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै झापामा पानीमा डुबेर ३६ जनाले ज्यान गुमाएका थिए।



