सिनेमा ‘कोशोढुङ्गा’को निर्माण टिमले प्रचार–प्रसारलाई तीव्र पारेको छ। प्रचारलाई अझ प्रभावकारी बनाउनका लागि निर्माण टिमले हालै एक कविता सार्वजनिक गरेको छ।
सार्वजनिक कविताको वाचन सिनेमाकी मुख्य अभिनेत्री सुरक्षा पन्तले गरेकी छन्। कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्पको भाव अटाइएको छ। लिरिकल भिडियोमार्फत प्रस्तुत कवितामा सिनेमाका केही फुटेज र स्टिल तस्वीरहरू समेत समावेश गरिएको छ।
कविताले क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जीवन, सम्बन्धमा गरिने विश्वास, र पर्खिरहेका परिवारको भावलाई चित्रण गरेको छ। यसमार्फत सिनेमाको कथावस्तुको संकेत गरिएको भए पनि पूर्ण कथा खुलाइएको छैन। निर्देशक सरोज पौडेलका अनुसार, कथा क्रमशः किस्ताबार सार्वजनिक गरिनेछ।
यसैबीच, निर्माणपक्षले सिनेमाका तीन पोस्टर पनि सार्वजनिक गरेको छ। पहिलो पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले छन्। दोस्रो पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी देखिन्छन्। तेस्रो पोस्टरमा सुरक्षा पन्त र मन्जिल कुमार फिचर्ड छन्, जहाँ सुरक्षाले भारी बोकेकी छन् र मन्जिल कसैलाई हेरीरहेका छन्। तीनै पोस्टरमा कलाकारहरू आफ्नो चरित्र अनुसारको लुक्समा देखिएका छन्।
केही दिनअघि निर्माण टिमले प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरेको थियो। यसअघि सार्वजनिक ‘नत्र भने जिन्लगी व्यर्थ छ’ शीर्षकको गीत अहिले टिकटकमा निकै चर्चित छ।
‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेलद्वारा निर्देशित ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदैछ। नरदेवी फिल्म्सको प्रस्तुति र सारंगी फिल्म्सको सहकार्यमा बनेको यस सिनेमामा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सिनेमाका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत, र सुवलमणि सापकोटाको कास्टिङ निर्देशन यसमा रहेको छ।
नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शन हुने यो सिनेमा, डायस्पोरामा नेपाली सिनेमाको इतिहासमै पहिलो पटक यति धेरै देशमा एकसाथ रिलिज हुँदैछ। अन्तर्राष्ट्रिय बजारमा ‘कोशेढुंगा’को वितरण प्याट्रिक सुवेदी र रमेश ढकालको ‘सेभेन सिज इन्टरनेसनल’ले गर्नेछ। निर्माण टिमले यसलाई नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अवसरका रूपमा लिएको छ।



