झापा, २६ साउन : वन तथा वातावरण मन्त्रालयले निजी वनतर्फको राष्ट्रिय पुरस्कार झापाको दुवागढीस्थित जडीबुटी एग्रो नर्सरी प्रा.लि.लाई प्रदान गरेको छ।
सामुदायिक वन दिवस–०८२ को अवसरमा मन्त्रालयको वन तथा भूसंरक्षण विभागले सोमबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय पुरस्कार तथा प्रमाणपत्र वितरण समारोहमा नेपालकै उत्कृष्ट निजी वनको रूपमा जडीबुटी एग्रोलाई सम्मान गरिएको हो।
वन तथा वातावरण मन्त्रालयका माननीय ऐनबहादुर शाही ठकुरीबाट जडीबुटी एग्रोका संस्थापक भरतकुमार बस्नेतले सम्मानपत्र ग्रहण गर्नुभयो।
जडीबुटी एग्रोले अन्य मुलुकबाट आयात हुने इन्डोर प्लान्टलाई प्रतिस्थापन गर्दै, नेपालको माटो र हावापानीमा उत्पादन गरिएका बिरुवालाई बजारसम्म पु-याउँदै आउनुभएको छ।
“प्रयास गरे बालुवामा पनि सुन फल्छ” भन्ने भनाइलाई जीवन्त बनाउँदै, तपाईँले १६ वर्षअघि बलौटे माटोमा सुरु गर्नुभएको अभियान अहिले ६० बिघा जमिनमा हराभरा जंगलको रूपमा परिणत भएको छ।
आफ्नै सिँचाइ प्रणाली र अथक मेहनतको बलमा तपाईँले सयौँलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्नुभएको छ।
दुवागढीमा ६० बिघा जग्गा लिजमा लिएर सञ्चालन भइरहेको निजी वनमा पामका विभिन्न प्रजाति, जे-जे प्लान्ट, चाइना डल, प्रोटोन, स्वामी, मसला, फिस टेल, खमारी, तेजपात लगायतका बोटबिरुवा छन्। हडिया खोलाको बगरलाई मलजल गरेर हरियालीमा परिणत गर्नुभएको संस्थापक बस्नेतको भनाइ छ।



