बिर्तामोड, २७ साउनः प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति पुरस्कार पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ ।
प्रेस चौतारी नेपाल झापाको आज बसेको बैठकले कान्तिपुर टिभीमा झापाबाट कार्यरत दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो ।
चौतारी झापाको आज बसेको बैठकले दाहालको नाम अनुमोदन गर्दै साउन ३० गते आयोजना हुने विशेष कार्यक्रममा लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको हो। यसअघि साउन ११ गतेको बैठकले अध्यक्ष प्रदीप परियारको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो, जसमा फाँट इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य सदस्यका रूपमा रहनुभएको थियो ।
छनोट समितिले पछिल्लो ६ महिनामा जिल्लाबाट प्रकाशित तथा प्रसारित समाचारहरूको मूल्यांकन गर्दै दर्जनौं उत्कृष्ट सामग्रीमध्येबाट दाहालको समाचारलाई शीर्ष स्थानमा राखी सिफारिस गरेको हो। अध्यक्ष परियारका अनुसार दाहालले बाह्रदशी गाउँपालिकामा मुस्लिम र मधेशी समुदायका महिलाहरूको न्यायमा पहुँच नपुगेको विषयमा तयार पारेको समाचारलाई विशेष प्राथमिकता दिइएको हो।
प्रेस चौतारी झापाले हरेक ६–६ महिनामा उत्कृष्ट समाचारका आधारमा संस्थापक अध्यक्षको नाममा लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको थियो। यसअघिको बैठकले उक्त लेखनवृत्तिलाई व्यवस्थित गर्न केन्द्रीय सदस्य सावित्रा दाहाल, मनकुमार गदाल र पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीलाई कार्यविधि तयार पार्ने जिम्मेवारी दिएको थियो।



