झापा, ४ भदौ : निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’ आगामी भदौ १२ (अगस्ट २८) मा तीजको अवसर पारेर नेपालसहित ४२ भन्दा बढी देशमा एकैसाथ प्रदर्शन हुँदैछ। यसअघि ‘पूर्णबहादुरको सारंगी’ जस्तो ब्लकबस्टर सिनेमा निर्देशन गरिसक्नुभएका पौडेलले यस पटक ग्रामीण परिवेशमा आधारित नयाँ कथा तपाईंलाई प्रस्तुत गर्न लाग्नुभएको हो।
यस सिनेमामा त्रिकोणात्मक प्रेम, पारिवारिक सम्बन्धका उतार–चढाव, दाम्पत्य जीवनमा देखिने संघर्ष, साथै गाउँले समाजको गरिबी र अभावलाई कथाको मुख्य आधार बनाइएको छ। सामाजिक यथार्थ र सम्बन्धका विभिन्न आयामलाई छुन खोजिएको यो कथा तपाईंलाई भावनात्मक रूपमा जोड्ने निर्माण पक्षको विश्वास छ।
‘कोशेढुंगा’मा आर्यन सिग्देल, सुरक्षा पन्त, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार र सरोज खनाललगायतका चर्चित कलाकारहरूको अभिनय समावेश छ। निर्देशक पौडेलकै लेखनमा बनेको यस सिनेमालाई प्रबिल कँडेल र किशोर अनुरागले निर्माण गर्नुभएको हो भने दिनेश खड्का कार्यकारी निर्माता हुनुहुन्छ।
नरेदवी फिल्म्स र सारंगी फिल्म्सको संयुक्त प्रस्तुति रहेको ‘कोशेढुंगा’ सेभेन सिज इन्टरनेसनलमार्फत अन्तर्राष्ट्रिय बजारमा समेत रिलिज हुने भएको छ।



