झापा, १० भदौ : झापाको कनकाई नगरपालिका ८ बिरीङ पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मंगलबार राति करिब ८:४० बजे सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मारुती भ्यान चालक घाइते भई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याइएका थिए। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। चालकको साथमा भेटिएको पर्समा झापा शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको नाममा मतदाता परिचयपत्र भेटिए पनि आधिकारिकरूपमा पुष्टि हुन बाँकी छ।
त्यस्तै, भ्यानमा सवार शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागे पनि अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
दुर्घटनामा संलग्न पिकअपसहित चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले नियन्त्रणमा लिएको छ।



