पोखरा, १३ भदौ : गुरुङ संस्कृतिलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि प्रदर्शनमा आउने भएको छ। दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङ मुख्य भूमिकामा रहेका यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई चित्रण गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा कलाकार र निर्माताले ‘रिमै’ मौलिक कथा र संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गरे। करिब ३ करोड लागतमा बनेको यस सिनेमामा गुरुङ बस्ती र गाउँघरको जीवनशैलीसँगै मौलिक धुन र ताललाई समेटिएको छ।
उपेन्द्र सुब्बाको कथा र खीलबहादुर गुरुङको निर्देशनमा तयार भएको ‘रिमै’ ले नेपाली सिनेमामा मौलिकताको नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।



