बिर्तामोड, १३ भदौ : झापा बिर्तामोडको पहिचानका रूपमा रहेको मुक्तिचोकको स्तम्भ छिट्टै भत्किने भएको छ । एसियन हाइवे निर्माण अन्तर्गत मुक्तिचोक क्षेत्रमा ओभरपास बनाउनुपर्ने भएकाले सो स्तम्भ हटाइने भएको हो ।
२०६६ साल वैशाख ६ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले स्तम्भको उद्घाटन गर्नु भएको थियो । लोकतन्त्र प्राप्तिको आन्दोलनमा लड्ने वीर नेपाली जनता र शहादत प्राप्त शहीदहरूको सम्झनामा गोपालकुमार बस्नेतको अध्यक्षतामा बनेको जनआन्दोलन स्मृति प्रतिष्ठानद्वारा स्तम्भ निर्माण गरिएको थियो ।
आयोजनाका प्रतिनिधिहरूका अनुसार काँकरभिट्टा–लौकही सडक पूर्वी खण्ड अन्तर्गत ओभरपास बनाउनुपर्ने भएकाले स्तम्भ रहेको स्थान खाली गर्नुपर्ने भएको हो । मुक्तिचोकबाट पश्चिमतर्फ ३९० मिटर र पूर्वतर्फ २०० मिटर ओभरपास बन्नेछ ।
मुक्तिचोक र स्तम्भको इतिहास
लेखक तीर्थ सिग्देलका अनुसार हालको मुक्तिचोक पहिले राजमार्ग चोक, त्यसपछि ट्राफिक चोकका नामले चिनिन्थ्यो । २०४६ साल चैतमा सहिद राम थापाको स्मृति सभा सम्पन्न गरेर फर्किँदा वरिष्ठ अधिवक्ता लीला उदासीले सो चौबाटोलाई ‘मुक्तिचोक’ नाम दिएका थिए । पछि तत्कालीन मन्त्री झलनाथ खनालले औपचारिक रूपमा नामकरण गरेका थिए ।
जनआन्दोलनको सम्झनामा स्तम्भ निर्माण गर्ने निर्णय भएपछि सरकारी बजेटमार्फत २३ लाख रुपैयाँ विनियोजन गरिएको थियो । सो रकमबाट बनेको स्मारक २०६६ वैशाख ६ गते कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटनका दिन लिम्बुवान आन्दोलनको कारण बिर्तामोडमा तनाव समेत सिर्जना भएको स्मरण लेखक सिग्देलले गरेका छन् ।
संरक्षणबारे छलफल
मुक्तिचोकमा ओभरपास बन्ने भएपछि स्तम्भ सार्ने विषयमा स्थानीय तहले पहल थालेको छ । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्तम्भ उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिँदै सरोकारवालाहरूसँग छलफल सुरु भएको जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, स्थानीय जनप्रतिनिधि, जनआन्दोलन स्मृति प्रतिष्ठानका पदाधिकारी तथा सरोकारवाला निकायले स्थलअनुगमन समेत गरेका छन् ।
आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार अब डेढदेखि दुई हप्तापछि चारपानेमा ओभरपासको काम सुरु भई त्यसपछि बिर्तामोडमा काम थालिनेछ । परियोजना प्रतिनिधिहरूले सडकको नक्सामा कुनै परिवर्तन नहुने स्पष्ट पारेका छन् ।
जनआन्दोलन स्मृति प्रतिष्ठानका महासचिव हरिचरण शिवाकोटीले स्तम्भ कुनै दलको मात्र नभई सबैको साझा स्मृति भएकाले सार्वजनिक पार्क वा उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने धारणा राख्नु भएको छ ।



