झापा, १७ भदौ : बिर्तामोडमा ‘YAHA CHHA’ नामक डिजिटल एपको शुभारम्भ गरिएको छ । सेवाग्राही र सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यसहित एप सार्वजनिक गरिएको हो ।बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले एक विशेष कार्यक्रमबीच एपको उद्घाटन गर्नुभयो ।
ROOT DEVS PVT.LTD ले निर्माण गरेको यस एपमार्फत मानिसहरूले घरमै बसेर विभिन्न सेवा सहजै लिन सक्नेछन् । कम्पनीका अनुसार, यसले दक्ष जनशक्तिलाई काममा संलग्न गराउने र सेवाप्रदायकलाई सुरक्षित रूपमा भुक्तानी उपलब्ध गराउने सुविधा दिनेछ ।
नगरप्रमुख प्रसाईंले हरेक सीपको कदर गर्ने र नेपालमै डिजिटल व्यापारको सम्भावनालाई उजागर गर्ने एउटा महत्त्वपूर्ण पहलको रुपमा यो एप रहेको बताउनुभयो । सेवाग्राहीका लागि एप प्रयोग निःशुल्क रहनेछ भने सेवाप्रदायकले आफ्नो सेवा शुल्क खल्तीमार्फत सुरक्षित रूपमा पाउनेछन् ।
कम्पनीले डिजिटल सेवामा देखिने अनावश्यक झन्झट र भुक्तानी नपाउने जोखिमलाई कम गर्न यो एप ल्याएको कम्पनीका सञ्चालक रविन थापाले जानकारी दिनुभयो ।एपको कार्यालय झापाको अर्जुनधारा–११ मा रहेको छ । कम्पनीले नेपालमै पहिलो पटक यस्तो किसिमको डिजिटल एप निर्माण गरिएको दाबी गरेको छ ।
सोहि कार्यक्रमका बीच एप निर्माणमा सहयोग पुर्याउने एक जना विशेष व्यक्तिलाई सम्मान गरिएको छ । कम्पनीले युवा व्यवसायी तथा समाजसेवी पदम श्रेष्ठलाई सम्मान गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख प्रसाईले श्रेष्ठलाई खादा लगाएर सम्मानपत्र प्रदान गर्नु भयो ।
कम्पनीका सल्लाहकार रवि चापागाईको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरुलाई नविन भण्डारीले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष खगेन्द्र ईङ्नाम, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, ROOT DEVS बंगलादेशका सिईओ ईलास खान, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बिर्तामोड वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, नयाँ पेपर डट कमका अध्यक्ष तथा युवा व्यवसायी निर्मलराज खत्री, मेची क्याम्पस भद्रपुरका आईटी डिपार्ट प्रमुख सुनिल शर्मा, वीरता लेडी जेसिजकी अध्यक्ष निशा शाक्य, पूर्व अध्यक्ष संगिता गिरी, ईन्जिनियर दिपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
नेपालकै पहिलो यो एप सेवाग्राहीका लागि प्रभावकारी हुने विश्वास गरीएको छ ।



