काठमाडौँ १९ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति आक्रमण भएको छ ।
रास्वपाका सचिवालय सदस्य दीपक बोहराका अनुसार, कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गर्दा करिब राति ८ बजे मोटरसाइकलमा आएका तीन अज्ञात व्यक्तिले भण्डारीमाथि रड प्रहार गरेका थिए । आक्रमणका क्रममा टाउको र खुट्टामा चोट लागेर भण्डारी गम्भीर घाइते भएका छन् ।
गहिरो टाउको चोटका कारण चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचार गरिँदा उनको टाउकोमा १० वटा टाँका लगाइएको बोहराले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।
घटनाबारे आवश्यक अनुसन्धान सुरु भएको र शंकास्पद व्यक्तिहरु पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



