काठमाडौँ, २० भदौ: पूर्वराष्ट्रपति डा. रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक पूर्वाधारमा सीमित नराखी शिक्षा, समाज, प्रविधि लगायतका सबै क्षेत्रलाई समेटेर समान रूपले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
काठमाडौँमा आज आयोजित दिगो विकासका लागि अन्तरविषयक अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठिमा बोल्दै डा. यादवले सामाजिक न्याय र समाजकल्याणमा केन्द्रित परिवर्तनकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले युवाहरुलाई जिम्मेवार, दूरदर्शी र समाजप्रति उत्तरदायी नेतृत्व विकास गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले अन्तरविषयक अध्ययनले विद्यार्थीमा बहुआयामिक सोच, नवप्रवर्तन र समुदायसँगको सम्बन्ध बलियो बनाउने बताउनुभयो।
सेमिनारका अध्यक्ष बद्रीदेव पाँडेले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले युवालाई परिवर्तनकारी सोच र नेतृत्वतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो।
नेशनल कलेजका प्रिन्सिपल माधव न्यौपानेले गोष्ठिमा दिगो विकासका तीन मुख्य आयाम — अन्तरविषयक दृष्टिकोण, शैक्षिक–समुदाय सम्बन्ध, र दिगोपनका लागि प्रविधिकरण (डिजिटलीकरण) — बारे गहन छलफल भएको जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न शैक्षिक संस्था, अनुसन्धानकर्ता, विद्यार्थी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। उनीहरूबीच दिगो विकास, सामाजिक जिम्मेवारी तथा भविष्यका चुनौतीहरूबारे व्यापक छलफल भएको थियो।



