बिर्तामोड, २१ भदौः तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय शरीरिक सुगठन प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
आयोजक बडी ग्यारेजले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओभरल च्याम्पियनले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष आदित्य पराजुली, उपाध्यक्ष निर्मलराज खत्री, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष तथा प्रतियोगिताका सल्लाहकार टीकाराज ढकाल, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, प्रतियोगिता संयोजक राम दाहाल, दिपेन चौधरी, सचिब सन्तोष उप्रेती, सदस्य पदम श्रेष्ठलगायतले ट्रफी सार्वजनिक गर्नुभएको हो।
यसैबीच आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडस्थित सिटी सेन्टरमा हुने छ। पहिलो दिन प्रि-जजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिताका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो र दोस्रो संस्करण प्रदेशस्तरमा सीमित रहेपनि यो संस्करणबाट प्रतियोगिता राष्ट्रियस्तरमा स्तरोन्नति भएको छ। झापामा पहिलोपटक राष्ट्रियस्तरको बडीबिल्डिङ प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा देशभरबाट करिब दुई सय जना खेलाडीहरूको सहभागिता रहनेछ। ५५ केजीदेखि ७५ केजीभन्दा माथिसम्मका विभिन्न तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
कार्यक्रम संयोजक राम दाहालका अनुसार कोशी प्रदेश बाहेक अन्य प्रदेशहरूबाट आउने खेलाडीहरूलाई यातायात र आवास खर्चसमेत उपलब्ध गराइनेछ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको समेत सहभागिता हुने जानकारी दिँदै दाहालले यस प्रतियोगितालाई नेपालकै प्रतिष्ठित बडीबिल्डिङ प्रतिस्पर्धाका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको बताउनुभयो।
विजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुनेले तीन लाख, तेस्रोले दुई लाख, चौँथोले एक लाख, पाँचौँले ७५ हजार र छैटौँ स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। साथै, हरेक तौल समूहमा दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले क्रमशः सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यसअघि प्रदेशस्तरीय प्रतियोगिता हुँदा पहिलो पुरस्कार रकम तीन लाख ११ हजार १११ रुपैयाँ थियो। प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
कार्यक्रममा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टीकाराज ढकाल र आयोजक समितिका निवर्तमान अध्यक्ष अर्जुन मैनालीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
पत्रकार सम्मेलनमा सहभागीहरुलाई आयोजक समिति सचिव सन्तोष उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रतियोगिताका मिडिया संयोजक रमेश तिवारीले गर्नुभएको थियो ।



