झापा, २२ भदौ : बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका वरिष्ठ उप सचिव सागर मिश्र ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’बाट पुरस्कृत हुनु भएको छ ।
काठमाडौंमा भदौं २२ गते नेपाल सरकार संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा देशैभरिमा उत्कृष्ट कर्मचारीको रुपमा १ लाख नगद पुरस्कारसहित उहाँलाई पुरस्कृत गरिएको हो ।
आज आयोजित एक कार्यक्रमका बिच उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उहाँलाई प्रमाणपत्रसहित सो पुरस्कार प्रदान गर्नुभयो ।
२०५९ सालदेखि सरकारी सेवा प्रवेश गरी बिभिन्न जिल्ला र क्षेत्रमा कार्य अनुभव बटुलिसक्नु भएका मिश्रले जिल्ला प्रशासन कार्यालय झापा र कालिकोट, डोल्पा साथै भुटानी शरणार्थी शिविरमा समेत बसेर काम गर्नु भएको छ ।
सरकारले प्रत्येक वर्ष निजामती क्षेत्रका बिभिन्न उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । त्यस अन्तर्गत यसपटक १० जनालाई उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत गरिएको जनाइएको छ । त्यसैगरी ५० हजार राशिको निजामती पुरस्कारबाट ३० जना कर्मचारी पुरस्कृत भएका छन् ।
सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ उपस्थित हुनुहुन्थ्यो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाइएको छ ।
तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा २०१३ साल भदौ १३ पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउँदै आएको छ ।



